दुग्ध विकास संस्थानको परिचय
नेपाल सरकार कृषि विभाग अन्तर्गत रहेको तत्कालिन दुग्ध विकास वोर्डले वि.सं २००९ मा टुसाल, काभ्रेपलान्चोक र खरिपाटी, भक्तपुरमा १/१ गोटा दुग्ध संकलन केन्द्र साथै लाङ्गटाङ्ग, रसुवामा एक याक चीज केन्द्र स्थापना संगसंगै दुग्ध विकासको इतिहासको थालनी भएको पाइन्छ । तत्पश्चात वि.स. २०१०/११ मा काठमाडौंको भोटाहीटीमा दुग्धशाला स्थापना गरि दुग्ध प्रशोधन कार्यको थालनी भएको हो ।
वि.सं २०१३ मा थोदुङ्ग, रामेछापमा थप एक याक चीज केन्द्रको स्थापना साथै भोटाहीटी स्थित दुग्धशालाको दुग्ध प्रशोधन क्षमता धेरै न्यून भएकोले २०१३ फागुण २९ गते ५०० लि. प्रति घण्टा दूध प्रशोधन क्षमताको मेशिन जडान गरि लैनचौर (हाल दुग्ध विकास संस्थान, केन्द्रिय कार्यालय) मा केन्द्रिय दुग्धशाला स्थापना भएको हो । वि.सं २०१७ मा पून: पिके, सोलुखुम्वुमा थप १ याक चीज केन्द्रको स्थापना भएको हो ।
वि.सं २०२६ सालमा दुग्ध विकास वोर्डवाट उल्लेखित २ दुग्ध संकलन केन्द्र र ३ याक चीज केन्द्र साथै लैनचौर स्थित दुग्धशाला दुग्ध विकास संस्थानलाई हस्तान्तरण गरिएको थियो । यसको लगत्तै वि.सं २०२७ मा गोसाईकुण्ड, रसुवा, वि.सं २०२८ मा चोर्दुङ्ग, दोलखा र वि.सं २०२९ मा क्यामा, रामेछापमा गरी थप ३ याक चीज केन्द्र स्थापना भएको देखिन्छ ।
Related Posts